विराटनगर। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोशी प्रदेशबाट ५ जनाको उम्मेदवारी परेको छ। आज उम्मेदवारी दर्ताको अन्तिम दिन नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट ३ र नेपाली कम्युनिष्ट पार्टीका २ जनाले उम्मेदवारी परेको हो।
नेपाली कांग्रेस र एमाले गठबन्धनबाट दलित क्लस्टरमा सोम पोर्तेल, महिला क्लस्टरमा रोशनी मेचे र अन्य क्लस्टरमा सुनिलबहादुर थापाले उम्मेदवारी दर्ता गराउनु भएको हो भने नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट दलित क्लस्टरमा खेमराज सुन्दास र महिला क्लस्टरमा नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो।
अन्य क्लस्टरमा नेपाली कम्युनिष्ट पार्टीले हेमराज घिमिरेलाई उम्मेदवार घोषणा गरेता पनि घिमिरेले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्न असफल हुँदा अन्य क्लस्टरबाट गठबन्धनको थापा निर्विरोध निर्वाचित हुनुभएको थियो।
थापा निर्विरोध हुनुभएको क्लस्टर बाहेकको दुई क्लस्टरको भने माघ ११ गते निर्वाचन हुँदैछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ रहेको छ ।
कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११४ , एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ , जसपा नेपाल र राप्रपाका ४र४, श्रम संस्कृति पार्टी १ र स्वतन्त्र २ जना रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ , राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन् । कोशी प्रदेशमा स्थानीय र प्रदेश सहित कांग्रेसको मतभार ३ हजार ७०३, एमालेको ४ हजार २१०, नेकपाको १ हजार ६४२, राप्रपाको ३९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको ३८ मतभार रहेको छ ।


