विराटनगर। जिल्ला ट्राफिक कार्यालय मोरङले विकल्प एन अल्टरनेटिभसँगको सहकार्यमा ई- रिक्सा (सिटी रिक्सा) लाइसेन्सको विषयमा सचेतना फैलाउन स्वयंसेवक परिचालन गरेको छ। आजदेखि विराटनगरमा सिटी रिक्सा चालकहरूमा लाइसेन्सको विषयमा सचेतना वृद्धि गर्न स्वयंसेवक परिचालन गरेको हो।
कोशी प्रदेश सरकारले सिटी रिक्सा लाइसेन्स परीक्षामा लिखित परीक्षाको प्रावधान हटाउँदै मौखिक र सचेतना कक्षामा सहभागी भए पश्चतात लाइसेन्सका लागि प्रयोगात्मक परीक्षामा सहभागी हुने मिल्ने गरि ऐन संशोधन गरेसँगै ट्राफिक प्रहरीले सिटी रिक्सा चालकहरूमा लाइसेन्सको महत्त्व र आवश्यकताको विषयमा सचेतना वृद्धि गर्ने उद्देश्य सहित स्वयंसेवक परिचालन गरेको हो।
ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले सरकारले सिटी रिक्सा लाइसेन्स प्राप्त गर्ने प्रक्रिया सहज बनाएसँगै चालकहरूलाई लाइसेन्सको अभावमा आइपर्ने कानुनी झमेलाको विषयमा सचेतना फैलाउँदै लाइसेन्स लिन प्रोत्साहन गर्ने गरि अभियान सञ्चालन गरेको जानकारी दिनु भयो। न्यौपानेले लाइसेन्स प्राप्त गरिसकेको सिटी रिक्सा चालकका लागि ट्राफिकले छुट्टै ‘सुरक्षित चालक’ अभियान समेत चलाइरहेको बताउनु भयो।
विकल्प एन अल्टरनेटिभका संस्थापक एवम् कार्यकारी निर्देशक वसन्त अधिकारीले चालकहरूमा लाइसेन्सको विषयमा सचेतना वृद्धि गर्न सुरु गरिएको स्वयंसेवी अभियानका स्वयंसेवकहरूलाई दुई दिनको अभिमुखीकरण पश्चतात अभियानमा सहभागी गराइएको जानकारी दिनु भयो।


